"कम्पनी दर्ता प्रक्रिया: प्राइभेट, पब्लिक र गैर-मुनाफा कम्पनी बुझौं"
January 01, 2026
कम्पनी दर्ता गर्न चाहनुहुन्छ? प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड र गैर-मुनाफा कम्पनी बीचको फरक, आवश्यक कागजात र दर्ता प्रक्रियाको बारेमा सरल भाषामा जानकारी।
के तपाईं आफ्नै व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ? आजकाल धेरै मानिसहरू ठुलो जागिर छोडेर आफ्नै पाखुरीको बलमा केही गर्न चाहन्छन्। तर, व्यवसायलाई कानुनी मान्यता दिनको लागि कम्पनी दर्ता (Company Registration) गर्नु पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो।
Shubharambha Consulting मा, हामी तपाईंको यात्रालाई सहज बनाउन चाहन्छौं। धेरैलाई "प्राइभेट लिमिटेड", "पब्लिक लिमिटेड" र "गैर-मुनाफा कम्पनी" भनेको के हो भन्ने अलमल हुन्छ। यस ब्लगमा, हामी कम्पनी ऐन, २०६३ अनुसार यी भिन्नताहरूलाई सरल भाषामा बुझाउने छौं।
१. कम्पनी भनेको के हो? (What is a Company?)
साधारण भाषामा भन्नुपर्दा, कम्पनी भनेको उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समूहले कानुन अनुरूप स्थापना गरेको एक संगठित संस्था हो। यसलाई कानुनले व्यक्तिसरहको दर्जा (Legal Person) दिएको हुन्छ ।
यसको मतलब के हो भने:
-
कम्पनीले आफ्नो नाममा चल अचल सम्पत्ति (Property) प्राप्त गर्न, राख्न र बेच्न सक्छ।
-
यसले आफ्नो नामबाट बैंक खाता खोल्न सक्छ।
-
यसले आफ्नो नामबाट नालिस उजुर (Sue) गर्न सक्छ वा अरूले यसउपर मुद्दा हाल्न सक्छन्।
-
यो एक अविच्छिन्न उत्तराधिकारवाला हुन्छ, यानी कि संस्थापकको मृत्यु भएपनि कम्पनीको अस्तित्व मेटिदैन।
२. तपाईंको लागि कुन प्रकारको कम्पनी सही छ?
तपाईंले के व्यवसाय गर्न चाहनुहुन्छ भन्ने कुरामा तपाईंको कम्पनीको प्रकार निर्भर गर्दछ। मुख्यतया तीन प्रकारका कम्पनीहरू हुन्छन्:
(क) प्राइभेट कम्पनी (Private Limited Company - प्रा. लि.)
यो नेपालमा सबैभन्दा लोकप्रिय प्रकारको कम्पनी हो। सानो र मझौला व्यवसायका लागि यो उपयुक्त मानिन्छ।
-
शेयरधनी (Shareholders): यसको लागि बढीमा १०१ जनासम्म शेयरधनी हुन सक्छन्। तर, यो कम्पनी एकल शेयरधनी (एउटै व्यक्ति) ले पनि खोल्न सकिन्छ ।
-
शेयर बिक्री: यसको शेयर सर्वसाधारणलाई बेच्न पाइँदैन। शेयरधनीले आफ्नो शेयर बेच्न चाहेमा अन्य शेयरधनीहरूको सहमति लिनु पर्छ।
-
उदाहरण: एउटा सानो ट्रेडिङ फर्म, रेस्टुरेन्ट, वा परामर्श सेवा (जस्तै हाम्रो Shubharambha Consulting) सामान्यतया प्राइभेट लिमिटेड नै हुन्छ।
(ख) पब्लिक कम्पनी (Public Limited Company)
यो ठुला व्यवसायहरूका लागि हुन्छ, जसले धेरै मानिसहरूसँग लगानी संकलन गर्न चाहन्छन्।
-
शेयरधनी (Shareholders): यसको लागि कम्तीमा ७ जना संस्थापक हुनु अनिवार्य छ ।
-
चुक्ता पूँजी (Paid-up Capital): यसको लागि कम्तीमा रु. १ करोड चुक्ता पूँजी हुनु पर्छ ।
-
शेयर बिक्री: यसले सर्वसाधारणलाई शेयर बेच्न (Public Issue) र शेयर बजारमा सूचीकृत (Listed) हुन सक्छ।
-
उदाहरण: ठुला बैंक, बीमा कम्पनीहरू, हाइड्रोपावर कम्पनीहरू सामान्यतया पब्लिक लिमिटेड हुन्छन्।
(ग) मुनाफा वितरण नगर्ने कम्पनी (Not-for-Profit Company)
यदि तपाईं व्यवसाय गरेर मुनाफा कमाउने भन्दा पनि सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी कार्य गर्न चाहनुहुन्छ भने यो प्रकारको कम्पनी दर्ता गर्न सकिन्छ।
-
शेयरधनी (Shareholders): कम्तीमा ५ जना संस्थापक हुनु पर्छ ।
-
मुनाफा: यसले कमाएको मुनाफा सदस्यहरूमा बाँड्न पाइँदैन। कमाएको सबै पैसा संस्थाको उद्देश्य पूरा गर्नमा खर्च गर्नु पर्छ।
-
नामकरण: यसले आफ्नो नामको पछाडि "प्रा.लि." वा "लिमिटेड" जस्ता शब्दहरू लेखिरहनु पर्दैन। जस्तै: "XX फाउन्डेसन" वा "YY संस्था"।
-
उदाहरण: एनजीओ (NGO), स्कुल, क्लब, धार्मिक संस्थाहरू।
३. कम्पनी दर्ताको लागि आवश्यक कागजात (Documents Required)
कम्पनी दर्ता गर्न तपाईंले निम्न कागजातहरू तयार गर्नु पर्छ:
-
संस्थापकहरूको नागरिकता (Citizenship): सबै संस्थापक (शेयरधनी) को नागरिकताको प्रतिलिपि (सकल्क गरिएको/आफैले प्रमाणित गरेको)।
-
फोटो (Passport Size Photo): सबै संस्थापक र संचालक (Director) हरूको फोटो।
-
नियमावली र प्रबन्धपत्र:
-
प्रबन्धपत्र (Memorandum of Association - MOA): यो कम्पनीको "जन्म प्रमाणपत्र" हो। यसमा कम्पनीको नाम, ठेगाना, मुख्य उद्देश्यहरू र पुँजी उल्लेख गरिएको हुन्छ।
-
नियमावली (Articles of Association - AOA): यो कम्पनीको "नियम पुस्तिका" हो। यसले कम्पनी कसरी संचालन गर्ने, बैठक कसरी बस्ने, शेयर कसरी हस्तान्तरण गर्ने भन्ने बारेमा नियम बनाएको हुन्छ।
-
-
कार्यालय प्रमाण (Proof of Registered Office): कम्पनीको कार्यालय रहने स्थानको भाडा सम्झौता वा आफ्नै घर भएे लिखत प्रमाणित प्रति।
-
संचालकको सहमति (Consent Letters): प्रस्तावित संचालकहरूले संचालक बन्न राजी भएको सहमति पत्र।
४. सरलीकृत दर्ता प्रक्रिया (Simplified Registration Process)
नेपालमा अहिले कम्पनी दर्ता धेरै हदसम्म अनलाइन प्रणालीमार्फत हुन्छ। सरल तरिकामा यो प्रक्रिया यसप्रकार छ:
-
कम्पनीको नाम सिफारिस (Name Reservation): कम्पनी रजिष्ट्रारको कार्यालय (OCR) को वेबसाइटमा गएर आफ्नो कम्पनीको नाम सुझाव दिनुहोस्। नाम अरू कम्पनीसँग नमिलेको र स्वीकृत भएपछि मात्र अर्को चरणमा जान सकिन्छ।
-
कागजात पेश (Document Submission): प्रबन्धपत्र र नियमावली सहित सबै कागजातहरू अनलाइन नै पेश गर्नुहोस्।
-
शुल्क तिर्नुहोस् (Payment of Fees): तपाईंको अधिकृत पूँजी (Authorized Capital) अनुसार सरकारी दस्तुर तिर्नुहोस्। सानो पूँजी भएको कम्पनीको लागि दस्तुर रु. १,००० देखि सुरु हुन्छ।
-
प्रमाणपत्र प्राप्त गर्नुहोस् (Get Your Certificate): कागजातहरू जाँच भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयले तपाईंलाई कम्पनी दर्ताको प्रमाणपत्र (Certificate of Incorporation) प्रदान गर्दछ। यो प्राप्त भएपछि तपाईंको कम्पनी कानुनी रूपमा स्थापित भएको मानिन्छ।
Shubharambha Consulting कसरी मद्दत गर्न सक्छ?
कम्पनी दर्ता गर्ने प्रक्रिया सरल भएतापनि, कागजातको जटिलता र कानुनी भाषाले धेरैलाई हैरान बनाउन सक्छ। गलत कागजात पेश गर्दा समय र पैसा दुवै बर्बाद हुन सक्छ।
Shubharambha Consulting मा हामी तपाईंको लागि यी सबै प्रक्रियाहरू सहज बनाउँछौं:
-
तपाईंको आवश्यकता अनुसार सही कम्पनी (प्रा.लि., प.लि., वा गैर-मुनाफा) छनौट गर्न सल्लाह।
-
प्रबन्धपत्र र नियमावली (MOA/AOA) तयार गरिदिने।
-
अनलाइन फारम भर्नेदेखि दस्तुर तिर्ने सम्मको सम्पूर्ण प्रक्रियामा साथ दिने।
आफ्नो व्यवसायको शुभारम्भ हाम्रो भरपर्दो साथमा गर्नुहोस्। आजै सम्पर्क गर्नुहोस्!